Sunday, November 8, 2009

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग निर्माण सुरु



(नयाँ पत्रिका दैनिक,२२ कात्तिक, २०६६ मा प्रकाशित)


लक्ष्मण खड्का


दोलखा/ नेपाली सेनाको प्राविधिक टोलीले दोलखाको लामाबगरस्थित ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग निर्माण शनिबारदेखि सुरु गरेको छ ।
प्रवेशमार्ग निर्माणका लागि नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका प्राविधिक प्रमुख सेनानी इन्जिनियर रामधर सिंह नेतृत्वको टोलीले प्रवेशमार्ग निर्माणस्थलमा काम थालेको बर्दबहादुर गण दोलखाका गणपति यमप्रसाद सापकोटाले जानकारी दिए ।
सेनाको टोलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सिंगटी- लामाबगर सडकखण्डको प्याकेज नम्बर १ अन्तर्गतको ३३ किमिदेखि ३९ किमिसम्मको करिब चार किलोमिटर सडकको ट्रयाक खोल्नेछ । सेनाले प्याकेज नम्बर १ अन्तर्गतको सबैभन्दा कठिन चित्रेभीरबाट काम सुरु गरेको छ । प्रमुख सेनानी इन्जिनियर सिंहका अनुसार, आउँदो तीन महिनाभित्र ट्रयाक खोल्ने काम सम्पन्न हुनेछ ।
दोलखाको सिंगटीदेखि आयोजना स्थल लामाबगरसम्मको साढे २८ किलोमिटर लामो प्रवेशमार्ग निर्माणका लागि विभिन्न तीन प्याकेजमा टेन्डर आह्वान गरी काम सुरु गरिएको लामो समयसम्म ट्रयाक खोल्ने काम पूरा नभएपछि सेनाले निर्माण सुरु गरेको हो ।
सडक निर्माणका लागि मन्त्रिपरिषद्को निर्णयबमोजिम सेनाको स्थपति महानिर्देशनालय र बर्दबहादुर गण चरीकोटबाट गरी चार प्लाटुन सैनिक खटिएका छन् । सोमबार साँझ प्रवेशमार्ग निर्माण स्थल सिंगटी पुगेको सैनिक टोलीले सडक निर्माणबारे मंगलबार स्थानीय राजनीतिक दलका कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीसँग छलफल गरेको थियो । प्रवेशमार्ग निर्माणका क्रममा सेनाको टोलीले २० प्रतिशत कामदार जनस्तरबाट लिने भएको छ । काम सम्पन्न गर्न सरकारले सात करोड रुपैयाँ छुट्टयाएको छ ।
सडक निर्माणका लागि खटिने सेनाको टोली प्रवेशमार्ग निर्माण स्थलमा क्याम्प खडा गरेर बस्ने र त्यसका लागि नेपाली सेनाको चरीकोटस्थित बर्दबहादुर गणले सुरक्षा र लजेस्टिक सामान बन्दोबस्ती गरिएको गणपति सापकोटाले जानकारी दिए । प्रवेशमार्ग निर्माणका क्रममा भीर छिचोल्न ठूल्ठूला विस्फोट गराउनुपर्ने र भोर्लेलगायत केही स्थानका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने सेनाको अनुमान छ । यद्यपि गाउँ-बस्तीलाई असर नपर्ने गरी 'कन्ट्रोल ब्लास्टिङ' गर्ने तयारी भइरहेको सेनाले जनाएको छ ।
प्रवेशमार्गको प्याकेज नम्बर १ अन्तर्गतको साढे ६ किलोमिटर सडक निर्माण जिम्मा पाएको पिआर कन्स्ट्रक्सनले सडक निर्माण क्रममा ठूल्ठूला भीर परेकाले टेन्डर रकम वृद्धि माग गर्दै बीचमै काम छाडेको थियो । पिआर कन्स्ट्रक्सनले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ऊसँगको सम्झौता रद्द गरी नेपाली सेना खटाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । पिआरले जिम्मा लिएको साढे ६ किलोमिटर प्रवेशमार्गमध्ये साढे दुई किलोमिटर सडक निर्माण कार्यमात्र सम्पन्न भएको छ । प्रवेशमार्गको सुरुकै बिन्दु अर्थात् प्याकेज नम्बर १ को काममा ढिलाइ भएका कारण प्याकेज नम्बर २ र ३ को काम सञ्चालनमा समेत बाधा पुगेको थियो । यद्यपि, पछिल्ला दुईवटा प्याकेजमा भने ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको आयोजनाका इन्जिनियर विमल गुरुङले जानकारी दिए ।
सन् २००९ सम्ममा प्रवेशमार्ग निर्माण सकेर आयोजनाका भौतिक संरचना निर्माण थालेर सन् २०१३ बाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । यद्यपि, प्रवेशमार्ग निर्माणमा भएको ढिलाइका कारण माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा शंका देखिएको छ । 'रोकिएको काम पूरा गर्न सेना खटिएको छ, परामर्शदाता छनोट कार्य पूरा भई सिभिल संरचना निर्माण प्रक्रिया पनि अघि बढिसकेको छ,' आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठले भने, 'अब काम तीव्र गतिमा हुनेछ ।'
छनोटमा परेका अन्तर्राष्ट्रिय पाँचवटा परामर्शदाता कम्पनीले यही १५ मंसिरसम्म र सिभिल संरचनाका लागि २२ मंसिरसम्म बोलपत्र बुझाउने अन्तिम मिति तोकिएको छ । यसैगरी माथिल्लो तामाकोसी जनसरोकार समितिका संयोजक दिव्यध्वज कार्कीले पनि प्रवेशमार्ग निर्माणमा नेपाली सेना खटिएपछि आयोजनाको काम छिटो अघि बढ्नेमा विश्वास व्यक्त गरे ।
दोलखा सदरमुकाम चरीकोटदेखि आयोजना स्थल लामाबगर गाविसको गोगरसम्म गरी कुल साढे ६७ किलोमिटर सडक निर्माण हुनुपर्नेछ । सोअन्तर्गत चरीकोटदेखि दोलखासम्मको चार किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको छ भने दोलखा बजारदेखि सिंगटीसम्मको ३५ किलोमिटर सडकखण्डको स्तर वृद्धि कार्य एक वर्षदेखि भइरहेको छ । सन् २००९ सम्ममा प्रवेशमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्रवेशमार्ग निर्माण कार्य पूरा हुन अझै केही महिना लाग्ने बताइन्छ । प्रवेशमार्ग निर्माणका क्रममा जम्मा ६ वटा पुल निर्माण गर्नुपर्नेछ । त्यसअन्तर्गत अहिले सिंगटी, जामुने, जगत, र गुमुखोलामा गरी चारवटा पुल निर्माणाधीन अवस्थामा छन् । यसैगरी गोँगर र भैँसेमा पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ ।
बहुचर्चित ४५६ मेगावाट क्षमताको सो आयोजना दोलखाको लामाबगरमा पर्छ । कुल ३५ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको माथिल्लो तामाकोसीमा २५ अर्ब रुपैयाँ ऋण जुटाउने नेपाल विद्युत् प्राधिकरणको योजना छ । माथिल्लो तामाकोसीमा नेपाल टेलिकमले पनि ६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने र टेलिकमले ६० करोड रुपैयाँबराबरको सेयरसमेत पाउने भएको छ ।

No comments:

Post a Comment