Friday, April 9, 2010

पिई रेसियो र सेयरमा लगानी

रमेश घिमिरे
सेयरमा लगानी गर्न मूल्य-आम्दानी अनुपात पिई रेसियो लाई मुख्य आधार मान्ने विश्वव्यापी मान्यता छ । पिई रेसियो २० भन्दा बढी भएका कम्पनीको सेयर किन्नु जोखिमपूर्ण मानिन्छ । पछि मूल्य बढ्ने विश्वासमा सेयर किन्ने प्रवृत्तिले पिई रेसियो पनि बढाउँदै लैजान्छ । अन्ततः बजार त्रुयास हुन्छ र प्रायः तत्कालीन सबै सेयरधनी टाट पल्टिन बाध्य हुन्छन् । तर पिई रेसियो कति पुगेपछि त्रुयास हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । रेसियो जति बढ्दै गयो त्रुयासको सम्भावना उति बढ्दै गएको आँकलन गर्न सकिन्छ । सर्वमान्य यो सिद्धान्त नेपालको हकमा सैद्धान्तिक र व्यावहारिक दुवै तवरले लागू हुन सकेको छैन ।

अहिले नेपालमा एकथरिले सेयर मूल्य निकै तल ओर्लियो यसलाई माथि उठाउनुपर्छ भनिरहेका छन् भने अर्काेथरिले पिई रेसियो अझै स्वाभाविक बिन्दुमा आइनपुगेकाले बजार सच्चिँदै गएको हो अझै घट्नुपर्छ भनिरहेका छन् । वाणिज्य बैंकको पिई रेसियो औसतमा ५० छ । सबैभन्दा उच्च रेसियो भएको एक बैंकको ८४ सम्म छ । औसत पिई रेसियोको आधारमा सेयर बजारको वृद्धि यथार्थपरक छ÷छैन सैद्धान्तिक दृष्टिले भन्न सकिए पनि नेपालमा धेरै कम्पनीको सेयर मूल्य कति स्वाभाविक छ भनेर पिई रेसियोकै आधारमा मात्र निक्र्यौल गर्न सकिँदैन ।

सेयरको आपूर्ति सौखको रुपमा सेयर किन्ने प्रवृत्ति सूचीकृत हुँदा नै कायम हुने उच्च पिई रेसियो र सेयरबाट कसरी लाभ पाइने हो भन्ने नबुझी लगानी गर्ने प्रवृत्तिलगायत कारण पिई रेसियोले खासै महŒव पाउन नसकेको हो । ९ हजार रुपैयाँ प्रतिसेयर मूल्य पुगेको स्ट्यान्डर्ड चार्टर्ड बैंक ३ हजारमा ओिलर्ंदा पनि पिई रेसियो ४० छ । सिद्धान्ततः अहिलेको मूल्यमा स्ट्यान्डर्ड चार्टर्डको सेयर किन्नु पनि ठूलो जोखिम हो । तर व्यवहारतः त्यसरी विश्लेषण गर्न सकिन्न । चार्टर्ड बैंकको सेयर लगानीकर्ताले वार्षिक प्रतिफल हेरेर मात्र किन्दैनन् । आत्मसम्मान र सौखका लागि पनि सो बैंकको सेयर किन्न चाहने लगानीकर्ता धेरै छन् । सो कम्पनीको ३७ लाख कित्ता मात्र सर्वसाधारणको हातमा छ । त्यसमध्ये पनि केही लाख कित्ता खानदानी व्यक्तिसँग छ जसलाई सेयर बिक्री गरेर पैसा जुटाउनुपर्ने अवस्था कहिल्यै आउँदैन । उनीहरुले हरेक वर्षको उच्च प्रतिफल खाएर सेयर होल्ड गरिराख्छन् । बजारमा कारोबार हुने सम्भावना रहेको बढीमा २५ लाख कित्ता हो । सबै बैंक तथा वित्तीय संस्थाका सेयरधनीको संख्या लाखौं पुगेको छ । उनीहरुमध्ये अधिकांशको १० कित्ता भए पनि चार्टर्ड बैंकको सेयर किनौँ भन्ने चाहना हुन्छ । सबैले किन्न चाहने र आपूर्ति कम भएपछि लगानीकर्ताले बढी मूल्य तिर्नु स्वाभाविक हो । सौख पूरा गर्न किनिने यस्तो सेयरमा नाफामुखी लगानीकर्ताले बढी रकम खर्च गर्दैनन् ।

वाणिज्य बैंकको सेयर नेपाल स्टक एक्सचेन्जले सूचीकरण गर्दा ५ सय रुपैयाँ हाराहारी मूल्य तोकेको हुन्छ । सामान्यतया कारोबार सुरु गरेको तेस्रो वर्ष सेयर सूचीकरण हुन्छ जतिखेरसम्म कुनै पनि बैंकले १० प्रतिशतभन्दा बढी मुनाफा कमाउने सम्भावना हुँदैन जसले गर्दा पिई रेसियो कम्तीमा पनि ५० हुन्छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले पुँजी वृद्धि गर्नुपर्ने बाध्यता छ । केही संस्थाको पुँजी मापदण्डअनुसार पुगिसकेको छ भने अधिकांशले अझै वृद्धि गर्नुपर्नेछ । कम्पनीहरुले एकैपटक ५० प्रतिशतदेखि २ सय प्रतिशतसम्म पुँजी वृद्धि गर्ने गरेका छन् । जसले गर्दा प्रतिसेयर आम्दानी एकै पटक २ सय प्रतिशतसम्म कम हुन्छ । तर सेयरधनीले सूचीकरण भएको मूल्यभन्दा पनि धेरै तलको मूल्यमा सेयर बेच्न तयार हुँदैन । फलस्वरुप पहिलेभन्दा पिई रेसियो उच्च कायम हुन पुग्छ ।

केही वाणिज्य बैंकको अझै पनि पुँजीकोष ऋणात्मक छ । त्यस्ता बैंकले वार्षिक मुनाफा उच्च गरे भने प्रतिसेयर आम्दानी पनि बढ्न पुग्छ । यस्तो अवस्थामा पिई रेसियो पनि उच्च अंकमा घट्छ । तर सिाचत नोक्सानी पूर्ति नभई त्यो वर्षको मुनाफाबाट सेयरधनीले प्रतिफल नपाउने हुँदा वास्तविक प्रतिसेयर आम्दानी ऋणात्मक नै हुन्छ । यस्ता कम्पनीको वार्षिक प्रति सेयर आम्दानीको आधारमा निकालिएको पिई रेसियोले वास्तविक अवस्था बताउन सक्दैन ।

खराब कर्जा उच्च भएका बैंकले पनि कर्जा असुलेर एकै वर्षमा ठूलो मुनाफा कमाउन सक्छन् । ती बैंकको पनि प्रतिसेयर आम्दानी उच्च हुन्छ भने पिई रेसियो कम हुन्छ । सिाचत नोक्सानी छैन भने सेयरधनीले उल्लेख्य प्रतिफल पनि पाउँछन् । तर त्यो प्रतिफलले अर्काे वर्ष निरन्तरता पाउँदैन । त्यो वर्ष साचालन मुनाफाबाट खुद आम्दानी बढेको नभई आकस्मिक रुपमा सम्भावित जोखिमकोषबाट पैसा फिर्ता भएर खुद मुनाफा बढेको हुन्छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकलाई वार्षिकीकरण गर्दा नेपाल बंगलादेश बैंकको प्रतिसेयर आम्दानी ६७ रुपैयाँ छ । बैंकले पुससम्म गरेको खुद मुनाफा ६६ करोड रुपैयाँमा जोखिमकोषबाट फिर्ता भएको ६१ करोड ६१ लाख रुपैयाँ जोडिएको हो ।

माथि उल्लेखित विभिन्न परिस्थिति र कारणले गर्दा पिई रेसियोले सेयर बजारको यथार्थ मूल्यांकन गर्न नसकिने अवस्था छ । केही समय पहिले पिई रेसियो हेरेर सेयर किन्न चाहनेले कुनै पनि कम्पनीको सेयर किन्न पाउने अवस्था नै थिएन । अहिले सेयर मूल्य घट्दै गएपछि केही कम्पनीको सेयर पिई हेरेर किन्न सकिने भएको छ । केही वर्षदेखि अधिकांश लगानीकर्ताले आवश्यक ज्ञानको अभावमा बढी मूल्यमा सेयर किनेका छन् भने केही बुझेका लगानीकर्ताले मूल्य बढाएर बेच्न सकिन्छ भनेर पनि अस्वाभाविक मूल्यमै सेयर किनेका छन् । त्यसरी बढेको सेयर मूल्यसूचकलाई पिई रेसियोका आधारमा एक्कासि तल झार्ने प्रयास आधिकारिक निकायबाट गर्नु न्यायिक हुँदैन । तर क्रमशः पिई रेसियोलाई आधार मानेर लगानी गर्न सरकारी निकायले सर्वसाधारणलाई प्रेरित गर्दै जानुपर्छ । कम्पनीहरुको पुँजी संरचना र वित्तीय अवस्थाले स्थायित्व पाएपछि र लगानीकर्ता पनि सचेत भएपछि पिई रेसियोका आधारमा बजारको सही मूल्यांकन गर्न सकिनेछ । हरेक वर्ष ठूलो संख्यामा कम्पनी थपिँदै जाने भएका कम्पनीले दोब्बर-तेब्बर पुँजी वृद्धि गर्ने र खराब कर्जा भएका बैंकले एकै वर्ष सबै खराब कर्जा असुल गर्ने धेरैले किन्न खोजेका कम्पनीको सेयर आपूर्ति नहुनेजस्ता कारणले नेपालमा पिई रेसियोमा उतारचढाव आउने गर्छ । त्यसैले तत्कालका लागि सेयर बजारको मापनमा पिई रेसियोको भार छुट्याएर मूल्यांकन गर्दै भविष्यमा पिई रेसियोलाई मुख्य आधार मान्ने दिशातर्फ अग्रसर हुनुपर्छ ।
 (नयाँ पत्रिका दैनिक २०६६ फागुन ७ मा प्रकाशित)

No comments:

Post a Comment