Sunday, December 6, 2009

आधा घट्यो राष्ट्र बैंकको नाफा

रमेश घिमिरे
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राबाट गर्ने आम्दानी गत वर्ष करिब ५० प्रतिशत घटेको छ । विश्व आर्थिक मन्दीका कारण विकसित मुलुकका बैंकले ब्याजदर घटाएपछि राष्ट्र बैंकको आम्दानी पनि घटेको हो ।
राष्ट्र बैंकको मुख्य आम्दानी स्रोत विदेशी बैंकमा राखेको निक्षेपबाट प्राप्त हुने ब्याज हो । कुल सञ्चालन आम्दानीको करिब ९५ प्रतिशत विदेशमा गरिएको लगानीबाट आर्जन हुन्छ । अपरिस्कृत वित्तीय विवरण- अनुसार आर्थिक वर्ष ०६५/६६ मा राष्ट्र बैंकले विदेशी मुद्राको ब्याजबाट ३ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष राष्ट्र बैंकले त्यस्तो आम्दानी ५ अर्ब ६२ करोड २४ लाख रुपैयाँबराबर गरेको थियो । चालू आर्थिक वर्ष ०६६/६७ मा वैदेशिक मुद्रा लगानीबाट १ अर्ब २४ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
राष्ट्र बैंकले आफूसँग भएको विदेशी मुद्रा विभिन्न देशका बैंकमा बचत गरी ब्याज आम्दानी गर्छ । कुल लगानीमध्ये ५० देखि ७५ प्रतिशत अमेरिकी डलरमा गर्नुपर्ने व्यवस्था छ । यसैगरी, भारतमा कुल लगानीको ५ प्रतिशत मात्र लगानी गर्न सकिन्छ । राष्ट्र बैंकले अस्ट्र्र्र्रेलियन डलर, युरो, पाउन्डलगायतका विदेशी मुद्रा पनि लगानी गर्छ ।
राष्ट्र बैंकले तोकिएको लगानी अनुपात कायम गरी बढी ब्याज प्राप्त हुने मुलुकमा लगानी गर्ने गर्छ । अमेरिकी बैंकमा पर्याप्त बचत नभई विश्वभर आयात-निर्यातलगायत भुक्तानी र असुली गर्न नसकिने भएकाले राष्ट्र बैंकले अमेरिकी डलरमा बढी बचत गर्ने गर्छ । विश्व आर्थिक मन्दी र अमेरिकी डलरको अवमूल्यनका कारण केही वर्षदेखि अरू देशको तुलनामा अमेरिकामा ब्याज न्यून हुँदै गएको छ ।
राष्ट्र बैंकले वाषिर्क खुद मुनाफाका आधारमा कर्मचारीलाई बोनस वितरण गर्नेगर्छ । सञ्चालक समितिले नाफाको केही अंश कर्मचारी कल्याण कोषमा राख्ने निर्णय गरेपछि कोषबाट कर्मचारीलाई बोनस वितरण गरिन्छ । विगतमा कर्मचारीले ७ महिनाबराबर बोनस पाएकामा यस वर्ष बोनस घट्ने र अर्काे वर्ष अझ घट्ने तथ्यांकले देखाएको छ । विदेशी मुद्रा लगानीका अलावा राष्ट्र बैंकले लाइसेन्स शुल्क, जरिवाना, ऋणपत्र बिक्रीको कमिसन, नेपाली मुद्रा लगानी आदि स्रोतबाट पनि आम्दानी गर्ने गर्छ ।

लगानी नीति फेरिने
राष्ट्र बैंकले वैदेशिक मुद्रा लगानी निर्देशिका संशोधन गर्ने भएको छ । आर्थिक मन्दीका कारण अमेरिकामा ब्याजदर उल्लेख्य ह्रास भएकोले अन्य मुद्रामा लगानी बढाउन निर्देशिका संशोधन गर्न लागिएको हो ।
हाल डलर र भारुबाहेक अन्य मुद्रामा लगानी गर्दा एउटा मुद्राको हिस्सा १० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । नाफा हुने ठाउँमा लगानी बढाउन राष्ट्र बैंकले निर्देशिका संशोधन गर्न लागेको हो । डलरको लगानी सीमालाई घटाएर भारु र अन्य मुद्रामा गरिने लगानीको हिस्सालाई बढाउने प्रस्ताव गरिएको छ ।
 लगानी समितिले संशोधन प्रस्तावलाई सञ्चालक समितिमा पेस गरेको छ । यसअघि एउटा बैठकमा छलफल भइसकेको यस प्रस्ताव आगामी बैठकले पारित गर्ने सम्भावना रहेको एक अधिकारीले जानकारी दिए ।
(नयाँ पत्रिका दैनिक १७ मंसिर २०६५ मा प्रकाशित)